Saturday 25 April 2009

गजल

अरुको पानी आफ्नोलाई खुन भन्नु भो ।
निर्धा पिसिए बिस्कुन को घुन भन्नु भो ।

आँगन चेपिएर पिंढी मात्र बाँकी रहदा ।
अँगालो हाल्नु भो आफ्नै हुन भन्नु भो ।

हिड्ने पाइलालाई आकाशे सपना बाँडी ।
सलाई कोर्नु भो यही हो जून भन्नु भो ।

निती नियम जलाएर आगोमा सक्नुभो ।
मैले जे बोलें अब त्यही कानुन भन्नु भो ।

बिचार नमिले सत्तोसराप हजार घुर्की
आफ्नैले भए जे सुकै गरुन भन्नु भो ।

Saturday 11 April 2009

गजल

बिदाइ को घडा राखेको प्रहर याद आयो ।
दुनियाँ देखेपछी बल्ल घर याद आयो ।

जहाँ पनि देखियो बल्दै आगो हुरहुरी ।
घरको मक्किएको काठ ,खर याद आयो ।

उपचार छन नि गर्ने हिम्मत पो छैन ।
ज्युदै मर्ने देखेर जहर याद आयो ।

टुटेपछी हत्केला हात मिलायो कस्ले ?
दुनियाको दुख उठाउने रहर याद आयो ।

एक गाँसको लागी शिर झुकेपछी ।
आमाले खुवाउन गरेको कर याद आयो ।

Wednesday 1 April 2009

गजल

अरु को छ र ! भन्दिए हुन्थ्यो नि ।
तिम्रै हो भर भन्दिए हुन्थ्यो नि ।

काट्नेले जतिसुकै कुरा काटुन् ।
मान्दिन डर भन्दिए हुन्थ्यो नि ।

नबोल्ने नसुन्ने दैबलाई अब त ।
इँटा,पत्थर भन्दिए हुन्थ्यो नि ।


मेरो दैलोमा झुक्किएर पाइला पर्दा
यही हो घर भन्दिए हुन्थ्यो नि ।

बाँच्न सार्है गार्हो भो दिनेश हगि ।
लिन्छौ त जहर भन्दिए हुन्थ्यो नि ।