Thursday 29 October 2009

गजल

चोखो माया बोकी ,आउँछु ।
बाँकि सास रोकी ,आउँछु ।

हराउने है अब हामि ।
घर ताल्चा ठोकी ,आउँछु ।

हेर्न लगाई हात, चिना ।
तिथि गते तोकी ,आउँछु ।

तिम्रो सुख मेरो संसार ।
यहि पाठ घोकी ,आउँछु ।

दिनेशले सोध्दा लाजले ।
भन्यौ ओठ टोकी ,आउँछु ।

Saturday 3 October 2009

गजल

मनको हाल बताउँछ आँसु ।
बिनासित्ति कहाँ आउँछ आँसु ।

बाध्यता थियो या लाज डर ।
सुस्केरामै जो पचाउँछ आँसु ।

मनमा होला के तिनीहरुको ।
जो लेख्छ आँसु जो गाउँछ आँसु ।

मन हलुङ्गो भएर थाहा भो ।
झरे पछि पो मुस्काउँछ आँसु ।

अहँ तिम्रो दैब हैन दिनेश ।
मान्छे हो र त बगाउँछ आँसु ।

Friday 2 October 2009

गजल

जति फुकायो उति गाँठो ,कसियो लौ हेर ।
उत्रिनु को सक्यो मायामा ,फसियो लौ हेर ।

आउँछन् सान्त्वना मुठी ,दुई बाँड्नेहरु ।
याचक भएर चोकमा, बसियो लौ हेर ।

जहिले पनि भै रहेर ,मात्र भेटौँ भेटौं ।
जान्न भन्दै उन्कै गल्ली , पसियो लौ हेर ।

आँखामा सपना छैन ,भाग्यमा आबादी ।
गेरु बस्त्र अनि खरानी ,घसियो लौ हेर ।

दिनेशलाई झुक्याए ,भनेर माया हो ।
आफ्नै हातले छुरी ओहो ,धसियो लौ हेर ।