Monday 27 December 2010

गीत

झण्डै २ बर्ष अगाडी लेखेको यो गीत मझेरीमा रहेछ र यस्लाई यो ब्लगमा राख्न रहर लाग्यो र यहाँ बाँडेको छु ।


धेरै वर्षपछि आज, फेरि घाउ दुख्यो छातीको ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को !

भिडले पन्छ्याएर एकातिर फालिदिन्छ ,
एकान्तले तर्साएर ,रहर सबै टालिदिन्छ ।
समय बदलियो ,देखेँ दुश्मन को साथी को।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को !

खेलौनाझैँ मान्छेसँग खेल्नेहरु हुदारैछन् ।
झुटो बोली मनाउन आगोलाई छुदारैछन ।
सकिएन बुझ्न ,के जानौँ जातीको न जाती को ।
सबै हुनेकै साथ ,हुदो रहेछ दुखि माथि को ?

Saturday 25 December 2010

२बर्ष

हिजोको राति थियो २ बर्ष अगाडिको जुनदिन मैले ब्लगमा पहिलो पाइला राखेको थिएँ , कागतका टुक्राहरुमा छरिने रचनाहरुले एउटा नोट भेटेका थिए , ब्लगको रुपमा ।
कम्पयुटर सम्बन्धी त्यति साह्रो ज्ञान नभएकोले नै हुनुपर्छ म त्यति ढिला भएको ब्लगको दुनियाँमा छिर्नलाई भन्ने पनि लाग्छ । रहर त उहिल्यै देखि थियो अहिले सम्झदाँ ।
यो २ बर्षको बीचमा धेरै कुराहरु सिकिएको छ , केहि कुराहरु बुझिएको छ , र थोरै कुराहरुको अनुगमन पनि गरिएको छ । आजको यो रातमा तिनै धेरै र थोरै कुराहरुको बीचमा रुमल्लिनु मन लागेको छ हेरौं यो दिनभरीको थकानले मेरो कति सम्म निंद थेग्न सक्छ । बिशेष लेख्न नै भनेर आजको यो पोष्ट शुरु गरेको हैन यहाँहरुमा यो जानकारी पनि गराउन चाहन्छु , यो २ बर्षमा के भयो त भन्ने कुराको जानकारी म आफैं स्वयम लाई पनि गराउन चाहन्छु यही शब्दहरु मार्फत । म जे लेख्दैछु केहि पल अघि सम्म सोचिएका थिएनन् जे मनमा आउँछ त्यस्लाई बिना संकोच यहिं लेख्दै जानेछु । यो मेरो सानो कथा ब्लग र मेरो ।
मेरो ब्लगको सुरुवात हुनुमा बसन्त गौतम जी को प्रभाव मलाई परेको थियो कि भन्ने लाग्छ , मैले ब्लग शुरु गर्नु भन्दा अगाडि अनेसास जापान मा हामी ले शायद एक कार्यकाल बिताइसकेका थियौं तर ब्यक्तिगत रुपमा उहाँसँग भेटघाट थिएन फोनमा शायद २-४ पल्ट कुराकानी भएको होला । यहिं जापान मा हुनु भएको कुनै साथीले उहाँको ब्लगको बारेमा मलाई जानकारी दिनु भएको थियो र उहाँको ब्लग हेरिसकेपछि मैले ब्लग बनाउनु पर्छ भन्ने सोच बनाएको थिएँ , आफ्ना मनमा लागेका कुरा बिधुतीय माध्यममा राख्नु , आफ्ना रचनाहरु साथीहरुमा बाँड्नु शायद यहि मेरो रहर भएको हुनुपर्छ ।
पहिलो पोष्ट ब्लगको नामाकरण (पहिले ब्लगको नाम चौतारी राखैको थिएँ ) गरिसकेपछि पुरानो आफ्नै रचना एउटा गजल राखें , त्यति बेला मलाई प्राबिधिक रुपमा धेरै कठीनाइ परेको अहिले पनि याद छ , ब्लगको फर्म्याट देखि रचना सेभ गर्ने सम्मका । यो तरंग मेरो लागि नौलो थियो र कोशिस गर्ने जाँगर पनि त्यहि भएर आजको दिन सम्म जेनतेन चलाइराखेको छु ।
त्यस्पछि रचना राख्ने क्रम र नयाँ साथीहरुको मा फलो गर्ने क्रम बढ्यो जो निरन्तर कायम छ , धेरै साथीहरु सँग घनिष्ठता रह्यो ब्लगको मार्फतबाट जस्तै : दिलिप आचार्य जी र भाउजु । अनि जापानमै रहनु भएका अर्जुन पौडेल जी , नेपालका जोतारे धाइबा , सुर्य न्यौपाने जी , दौंतरी ब्लग , गोकुल ढकाल , बेदनाथ पुलामी , मिलन लम्साल , चैतन्य , अशेष पौडेल ,दिपक जडित , कृष्ण थापा ,प्रबेश पौडेल ,राजेश बुढाथोकी नताम्स भाइ ,चुडामणी जी ,एकल यात्री , ठरकी दादा ,नेपोलियन ,प्रबिण थापा , हावा जी ,आकार अनि हालसालै केहि नयाँ मित्र हरु रबिन्द्र रिजाल , जितेन्द्र मल्ल , सुरेश खतिवडा , प्रमोद न्यौपाने ,आशांक , लगायतका साथीहरु सँग चिनापर्ची गफ र रचनाहरु र यस्का गुण अबगुणका पक्षमा कुराकानी भलाकुसारी भए , चिनजान भयो ।
यी सबै साथिहरु र यो २ बर्षमा यहाँको साथको लागि हार्दिक आभारी छु ।
आजभोलि पनि पुरानोमा धेरै पुराना साथीहरु अनि नयाँ केहि साथीहरुको पनि जोशले यो नेपाली ब्लग क्षेत्र चम्कीरहेझैं लाग्छ । यो जमर्को र साथ कहिल्यै नटुटोस यही रहर ।
मेरो रचना ब्लगको बिश्लेषण नभै खान्स्यानो किमोची ( धन्यबाद ज्ञापनको रहर ) मात्र हो । यस्लाई अन्यथा नलिइदिनुहोला । यो बीचमा मलाई साथ दिनु हुने हरेक हातहरुमा धन्यबाद ज्ञापन गर्न चाहन्छु ।

Friday 24 December 2010

गजल

हुन्छ आँसु सदर कि उपहास हुन्छ ।
जब केहि हुन्न तब मात्र आस हुन्छ ।

नछोऊ ताम्रपत्र नखाऊ कसम कुनै ।
जे जे हुन्छ आज कुरा खसोखास हुन्छ ।

केहि अघि हिंडी फेरि फर्की हेर्ने कारण ।
तिमी सँगै छौ सधैं यहि आभाष हुन्छ ।

होलान् नि रामायण यसरी बुझ्ने पनि ।
जो हुन्छ इमान्दार उस्कै बनबास हुन्छ ।

के के भेट्यो दुनिंयाले ,हेर्दा हेर्दै दिनेश ।
तेरो माग सधैं गाँस बास कपास हुन्छ ।