Thursday 26 July 2012

गजल

आजभोलि यही सानो कुराको अभाव भन्नुपर्छ । 
असल लाई असल खराबलाई खराब भन्नुपर्छ ।

तिम्रो गाउँमा नआउने कसम खाएँ हिजै मात्र ।
घमण्ड ? हैन -हैन यस्लाई स्वभाव भन्नुपर्छ ।

खै !कहिले होला मेरो सपनाको देश मेरो देश ?।
कहिलेकाँही प्रश्ननै प्रश्नको जबाब भन्नुपर्छ । 

असारमा रसाउने मूललाई अरु के नै भनौं?
यसो गरौंआँसु नभनौ बर्षाको प्रभाव भन्नुपर्छ 

Saturday 7 July 2012

गजल

रातमा निंदको सट्टा याद आउँछन अनि रिस उठ्छ ।
परेली बन्द नहुँदै सूर्य उदाउँछन अनि रिस उठ्छ ।

त्यस्को भन्दा उस्का धेरै राम्रा थिए कबिता-कथा ।
कस्ता-कस्ताले पुरस्कार पाउँछन अनि रिस उठ्छ ।

म ब्यबहारको कुरा गर्छु , ऊ जीतहारको कुरा गर्छ ।
सुन्नेले आफ्ना-आफ्नै अर्थ लाउँछन अनि रिस उठ्छ ।

पूरै बगैँचा घुमेर दिनेश रित्तो हात फर्कियो ।
मान्छे फूलदानी घरमा सजाउँछन अनि रिस उठ्छ । 

Wednesday 4 July 2012

गजल


सत्य सत्कार हिजोआज उखान भएछन ।
हिजो ठगी भन्थे आज वरदान भएछन् ।


धेरै मेहेनत पछि दिए दर्शन मलाई ।
मेरा यारहरु पनि भगवान  भएछन ।

तिम्रो गाउँ भेटेपछि बढ्दैनन कतैपनि ।
मेरै खुट्टाहरु अब बेइमान भएछन ।


जिम्मेवारी बोध गर्ने उमेर हो र भन्छु ।
केही गल्तीहरु हो त जानाजान भएछन् ।

दिनेशले खुब जतनले बनाएथ्यो बगैंचा ।
होश आयो र देखें सब रछ्यान भएछन ।