Tuesday, 24 June 2014

गजल

मैले आमालाई माया गर्छु भन्नू झुट्टा हुन्छ ।
बेचिनु पर्ने रुमालमा नै फूल बुट्टा हुन्छ ।

साँचो छोराछोरी त्यो स्वर्गमा बस्छन यार ।
जहाँ शीर झुक्दा सदा आमाको खुट्टा हुन्छ ।

भर्खरै आयो ऊ आमालाई बृध्दाश्रम छोडेर ।
नयाँ जमानामा शीर भएको मुर्कुट्टा हुन्छ ।


Thursday, 20 February 2014

गजल

पूरै नहोला अलिअलि, हो बिश्वास लाग्छ ।
बुढापाका भन्थे यो कली, हो बिश्वास लाग्छ ।

कति चम्किएला र  कति उफ्रिएला र अब ।
फूल छउन्जेल  पुतली , हो बिश्वास लाग्छ ।

जिन्दगीलाई इच्छा जस्तै , तेल नहुँदो हो त ।
डढी सकिनेछ सुतली , हो बिश्वास लाग्छ ।

हामी बाँचेकोनै रहेछौं यति हेर्नलाई ।
कुर्सीको अदली- बदली , हो बिश्वास लाग्छ ।

यसरी जोतिनु रहेछ र पो केटाकेटीमै ।
आमाले भन्नुभाथ्यो हली , हो बिश्वास लाग्छ ।

Wednesday, 15 January 2014

गजल

शत्रुहरुले पनि योगदान सम्झनेछन ।
मृत्युपछि सबैले महान सम्झनेछन ।

हल्लैहल्लामा कागको पछि दौडिनेहरु ।
फर्कनेछन जुनदिन कान सम्झनेछन ।

कोठाको रौनक हराएको कारण खोज्दै ।
कोही फूल कोही फूलदान सम्झनेछन ।

ए लाहुरे कुनैदिन गाउँका ढुंगा पनि ।
तँ सँग ठोक्किनु अपमान सम्झनेछन ।

दिनेशको जस्तै मन दुख्दा उनले पनि ।
कतै आमा कतै भगवान सम्झनेछन ।

Thursday, 19 September 2013

गजल

यस्तै निरन्तरको भय मुर्दाबाद । 
म बाँचिरहेको समय मुर्दाबाद । 

माथि देउताको जुलुश निस्कियो । 
मान्छेले गरेका प्रलय मुर्दाबाद । 

उनी मुस्काइन म गम्दै गम्दै हिंडे । 
मन पगाल्ने तिम्रो आसय मुर्दाबाद । 

लाखौंले हारेर एकले जित्छ भने । 
क्रान्ति मुर्दाबाद विजय मुर्दाबाद । 

प्यासीको तिर्खा मेटाउन नसक्ने । 
खोला ,पधेँरा ,जलाशय मुर्दाबाद । 

Friday, 14 June 2013

गजल

उमेरसँगै म मा सरेका हुन दुख त ।


हजुरबा, बुबाले गरेका हुन दुख त ।


भाग्य त्यो एकातिर अर्को मेरो पौरख ।

साँढेको जुधाइमा परेका हुन दुख त ।


ढलाउन मलाई तिम्रो भगवानले ।

पाइला पाइलामा छरेका हुन दुख त ।


बेइमान त तिमी होलाऊ ऊ नि होला ।

समुन्द्र सँगसँगै तरेका हुन दुख त ।



दिनेशलाई दिनेश बनाउँछु भन्दै ।

मलाई खोज्दै धर्ती झरेका हुन दुख त ।

Tuesday, 11 June 2013

केही टुक्राहरु

१)


सबैले लेख्छन

धेरैले पठाउँछन

केहीले जवाफ पाउँछन

एकदम थोरैले

सफलता भेट्छन

यो जिन्दगी र

पहिलो प्रेम पत्र

उस्तै उस्तै ।



२)

यी पहाड ,

अग्लो मान्दिन म ।

यो तराइ सम्म मान्दिन ।

कुहिरो धुमिल मान्दिन ,

आँखाको के भर छ र ?

कुनै पनि बेला ठग्न सक्छन ।



३)

जमाना फेरियो ,

बिहानै एकहुल कौवाहरु ,

कराउँदै थिए रेडियोतिर ,

म कोदाली बोकेर ,

कुलो लगाउन हिंडे ।

असार १५ लाई अब १ महिना छ ।

४)

मसँग जीवन थियो ,

जीवन दिएँ ,

अरुसँग चलाखी थियो ,

लगानी थियो । त्यहि दिए ।

र त्यही लिदैछन ।

यस्तो पो रहेछ क्रान्ति ।



५)

रुझ्दै तिमी

हिलाम्य आँगनबाट ,

पिढींमा उक्लन्छौ ।

तिम्रा पैतालाले ,

मेरा पिढीं भर फूल छर्छन ।

६)

खुल्ला झ्याल ,

भद्रगोल कोठा ,

चिन्ह राखेर छोडिएका किताबहरु ,

केही खालि पानाहरु,

बिर्को खुलै पेनहरु बताइरहेछन ,

म हराएको , धेरै भएछ ।

Sunday, 26 May 2013

गजल

रातमा निदाउने पनि छन ।

सिरानी भिजाउने पनि छन ।

 

टुटेर मन रुनेहरुमा यहाँ ।

रुमाल सिलाउने पनि छन ।



मलाई बिहानीको चाह छैन ।

साँझमा पिलाउने पनि छन ।



जसमा बाँचेको छ याद उन्को

फूलकेही बिझाउने पनि छन ।



उमेर ढल्केहुन्थ्यो सुस्त सँग।

बिचैमा बिलाउने पनि छन ।