Showing posts with label बिशेष. Show all posts
Showing posts with label बिशेष. Show all posts

Tuesday, 22 March 2011

भुकम्प चुनामी नेपाली समुदाय अनि म ,

भुकम्प र चुनामी पछिको केही दिनमै केही लेखौं लेखौं भन्ने लागिरहेको थियो तर कहिले आपद् का कुरा पनि लेख्छन भनेर मन मर्यो कहिले के लेखौं भनेर बिचार गरेर लेखको प्रारुप पनि तैयार गर्न सकिन । तर अन्तमा धेरै साथीहरुको कलम यस बिषयमा चलिरहेकोले मैले आफ्नै तरिकाले आफैंले भोगेका मेरा र हाम्रा कुरालाई समेट्ने जमर्को गरें ।
भुकम्प र म -
भुकम्पको धक्का हामी नेपालीले त्यति धेरै महशुस गरेका छैनौं , जापानमा बेला बेलामा भै राख्ने सानो सानो कम्पनमा पनि आत्तिने नेपालीहरु अझै भेटिन्छन् शुरु शुरुका दिनमा मेरो पनि त्यहि स्थिति थियो तर पछि बिस्तारै त्यो डर अलि कम हुँदै गएको महसुस गरेको थिएँ आफुले । भुकम्प र भुकम्प पछिको आकस्मिक अबस्थामा गर्नुपर्ने क्रियाकलाप र भुकम्पबाट हुनसक्ने क्षती कम गर्नको लागि अपनाउन पर्ने साबधानीहरुको बारेमा यहाँ प्राथमिक बिद्यालय देखिनै पढाइ हुन्छ र बिभिन्न स्थानहरुमा कृत्रिम भुँइचालो घरहरुको स्थापना गरी भुकम्पको अनुभव गराउने काम पनि भएको देखेको थिएँ ताकि आकस्मिक अबस्थाको हड्बडाहटलाई कम गर्न सकियोस् ।
स्कुलको पढाइमा मात्र नभएर भाषा सिक्ने बिद्यालय , ड्राइभिङ स्कूलहरु लगायतका अन्य ठाउँमा पनि भुकम्प र यसको क्षति कम गराउने उपायहरुको बारेमा पढाइने र सिकाइने गरिन्छ । धेरै ठाउँमा यसरी यो शब्द र घटनासँग भेट हुनु र जानकारी हुनुले हामी नेपाली भन्दा जापानीहरुमा भुकम्प शब्दसँग नडराउने मानसिकताको बिकास भएको छ भन्ने मेरो ब्यक्तिगत अनुभव छ ।
यो पटकको भुकम्प आउँदा म गाडिमा काममा जाँदै थिएँ , पहिलो पटकको कम्पन त मैले त्यति अनुभव नै गरिन सडकमा गाडिहरु सामान्य रुपमानै चलिरहेका थिए । तर सिग्नलमा रोकिएपछि गाडि हल्लिएको अनुभव भयो अगाडि र दाँया –बाँयाका गाडिहरु पनि बेस्कन हल्लन थालेको बेलामा सियाक्सो (वडा वा गाबिस कार्यालय ) बाट भर्खरै भुकम्प आएको र अझै जानसक्ने भएकोले सुरक्षित स्थानमा रहनको लागि सुचित गरिएको सुचना कानमा पर्यो । यस्ता सुचनाहरु सबैले सुन्न सकिने गरी बिभिन्न स्थानहरुमा स्पिकरको ब्यबस्था गरिएको हुन्छ र आकस्मिक अबस्थाहरुमा स्थानिय बासिन्दालाई सचेत गराउनको लागि प्रयोग गरिन्छ । सुचना प्राप्त भएपछि केहि अन्य गाडिहरुसँगै म पनि नजिकैको पार्कमा छिरें र त्यहिं लगभग डेढ घण्टा जस्तो बिताएँ । धेरै जस्ता ब्यक्तिहरु गाडिबाट ओर्लेर गाडिमा हातले समाएर सिधा अड्डिने प्रयास गरिरहेका थिए । भुकम्पको धक्का कम भएपछि गाडिमा बस्थे र बढेपछि बाहिर निस्कन्थे र वरिपरि हेर्दै सके सिधा उभिने नत्र गाडिमा समाएर सिधा उभिने प्रयत्न गरिरहेका थिए ।
लगभग डेढ घण्टाको यो कम्पन पछि मैले साथिहरुलाई फोनबाट सम्पर्क गर्ने प्रयास गरें तर कसैको फोन लागेन , यसरी जापानमा फोन नलागेको अनुभव मलाई प्रत्येक नयाँ बर्षको दिन १२ बजेपछि केहि समयको लागि थियो । सबैले एकैचोटी प्रयास गरेको कारण त्यसो भएको हुनुपर्छ । फोन नलागेपछि फेसबुक खोले नेटमा चाहिं कुनै समस्या थिएन र जापानमा हुनु भएका साथीहरु जो घटना भएको बेलामा टिभि हेर्दै हुनुहुन्थ्यो । उहाँहरुले भुकम्प र चुनामीको बारेमा टिभिमा दिइएका समाचारलाई आफ्नो स्ट्याटस बनाउनु भएको रहेछ हेरेपछि चाहिं स्थिति असमान्य भन्ने लाग्यो किनभने म भएको स्थानमा आएको भुँइचालो त्यो बेलाको समाचार अनुसार ६ रेक्टर स्केलको मात्र थियो र आफ्नो वरिपरि त्यस्तो बिनाशको घटना केहि देखिएको पनि थिइएन सबै सामान्यनै थियो ।
घरहरु कतै केही भएका थिएनन् , ६ -७ रेक्टरमा कुनै घर केहि नहुनु यो म नेपालीलाई अचम्मित पार्ने कुरो हुनेनै भयो ।
स्ट्याटस हेरेपछि अलि डर लाग्न थाल्यो अनि टिभि अन गरेर , समाचार हेर्दै अन्य आफ्ना मित्रहरुलाई फेसबुकका माध्यमबाट सम्पर्क गरें प्राय साथीहरुले स्ट्याटसमानै आफूहरु सुरक्षित रहेको जानकारी दिइरहनु भएको थियो र भोलिपल्ट र पर्सिपल्ट सम्म सम्पर्कको माध्यम भनेको फेसबुकनै बन्यो ।
आजका दिनसम्म कोही नेपाली हताहत् हुनु भएको खबर छैन यो हाम्रा लागि खुशिको कुरा हो , केही सम्पर्क बिहिन हुनुहुन्छ उहाँहरु पनि सकुशल हुनुहोला भन्ने कामना गर्न चाहन्छु ।
घटना पछि आकस्मिक रुपमा ट्रेनहरु बन्द भए , सडकमा गाडिको र मान्छेको चाप बढ्यो । घर फर्कन चाहनेहरु ट्रेन बन्द भएपछि ट्याक्सीको लागि लाइन लाग्न थाले ,ट्रेन स्टेसनमा ट्याक्सीको लागि सयौं मान्छेहरु लाइनमा थिए । अब के गर्ने र के हुन्छ ? शायद सबैको मनमा यही त्रास थियो । ट्राफिक जाम धेरै थियो , नजिकै घर हुनेहरु र केहि घण्टासम्म हिंडेर घरमा पुग्नेहरु हिंडेरै घरतिर लाग्न थाले धेरै पसल र अफिसहरु चाँडै बन्द भए । केहिले अनिश्चितकालको लागि भनेर सूचना टाँसेको पनि देखिएको थियो । फर्कने समयको बारेमा अनिश्चित भएपछि पसलमा खानेकुराहरु क्रमश: सकिंदै थिए । बेलुकी अबेरसम्म पनि अरुको बारेमा त्यति धेरै जानकारी लिन नसकिने अबस्था थियो । को कहाँ के भै रहेको छ कस्तो अबस्थामा रहेको छ कुन ठाउँमा कति असर पर्यो जानकारीको लागि रेडियो , टीभी एकमात्र उपाय थियो खबर प्राप्त गर्ने ।
भोलिपल्ट पनि प्राय: रेल बन्द रहे चलेकाहरु पनि लगभग सामान्य दिनको १०% को हाराहारीमा चलेका थिए भने सुपर मार्केटहरुमा चामल , पानी ,दुध, बट्टाका तैयारी खानाहरु , नुडल्स , कप नुडल्स र तरकारीहरु सकिए । पेट्रोलियमको लागि लामो लाइन शुरु भयो । भोलिपल्टको बेलुकी देखि प्राय पेट्रोल पम्पहरु बन्द भए । टिभिमा चुनामी र आणबिक भन्डारको समाचार अनि भुकम्प बाट क्षति पुगेका बिबरणहरु मात्र २४ घण्टा आइरहेको थियो , त्यसका साथै लोडशेडिङको समाचार शुरु भयो गर्नु पर्ने बाध्यता भएकोले लोडशेडिङ गर्ने तर कहाँ र कसरी गर्ने भन्नेमा अलमल भै रहेको थियो । टोकियो देन्र्योकु (टोकियो बिद्युत प्राधिकरण)ले लोडशेडिङका लागि ५ ग्रुप बिभाजन गर्यो , र एउटै वडाहरुलाई पनि बिभिन्न ग्रुपमा बर्गीकरण गरी लोडशेडिङ गर्ने जस्ले गर्दा बैंक एटिएम लगायतका अन्य सुबिधाका लागि पनि धेरै असर नपरोस् तर ग्रुप बिभाजन गरेको अर्को दिनसम्म पनि लोडशेडिङ गर्न सकेन लोडशेडिङ हुने भनेको समय भन्दा २० मिनेट अगाडि आज गर्न नसकिने भनेर लोडशेडिङ फिर्ता लियो । टीभीमा यस्का बारेमा खबर हरु आइरहेका थिए , र दर्शक प्रतिक्रियाहरु पनि धेरै जापानीजहरुको आवाज एउटै थियो , चुनामीग्रस्त फुकुसिमा र मियागिको दाँजोमा लोडशेडिङ केही पनि होइन गर्नै पर्छ भने गरे हुन्छ । म नेपाली भएर सोच्छु – लोडशेडिङ गर्नुपर्छ लोड थेग्न सकिएन भनेर पनि लोडसेडिङ गर्न नसक्ने सरकार , लोडशेडिङ हुँदैछ भन्ने खबर सुनेर आबश्यक छ भने गर्नु पर्छ भन्ने जनता ।
आज यो लेख लेखिरहँदा १० दिन ब्यतित भएको छ अहिले ट्रेनहरु सामान्य रुपमा चलेका छन् तर पेट्रोल पाउन अझै सकिएको छैन । केही पेट्रोलपम्पहरुले बिहान केही घण्टाको दरले पेट्रोल बाँड्ने गरेका छन् जस्को लागि घण्टौं लाइनमा बस्नुपर्ने स्थिति छ ।
जापानमा फेसबुक भन्दा पनि फेमस एउटा मिक्सि भन्ने सोसियल नेटवर्क छ त्यस्मा नेपाल केही बर्ष बसेर आएकी जापानीले लेखेकी थिइन् मलाई त लोडशेडिङ् को अनुभव छ शायद मलाई अध्याँरोमा पनि त्यति डर लाग्दैन होला , अनि सँगै लेखेकी थिइन् सक्नुहुन्छ भने कपडा लगाएर सुत्नुहोला , पानी को बोतल र स्लिपिंग ब्याग अनि केहि खानेकुरा चाहिं आफू सुत्ने ठाउँको नजिकै राख्नुहोला । मलाई यो स्ट्याटस केहि घतलाग्दो नै लाग्यो अनि मैले कमेन्ट गरेको थिएँ ,अघिल्लोको त मलाई पनि अनुभव छ पछिल्लोको ज्ञान चाहिं थिएन । मिक्सिमा पनि प्राय: स्टयाटसहरु “यो कठीन परिस्थितिलाई पार गरौं” र चुनामीमा परेका हरुप्रति समबेदना मात्र थियो । र अर्को एउटा यादगार चाहिं मिक्सिबाटनै चिनापर्ची भएका एकमित्रले बिहान ५-८ बजेसम्म उनको घर नजिकैको ट्रेन स्टेशनमा बसेर सहयोग उठाउनको लागि आफू लगायत केहि युवाहरु लागि परेको र सकेको सहयोग गर्न आव्हान गरेका थिए ।
यसपालीको चुनामी प्रभावित क्षेत्रमा सहयोग गर्नको लागि कम्पनी र सामाजिक संस्थाहरुले गर्न सक्ने तर ब्यक्तिगत रुपमा चाहिं घटनास्थलमा गै सहयोग गर्न नसकिने तर अन्य सामाजिक संस्थाहरुले रकम संकलन गर्नको लागि आव्हान गरेको एकाउन्टमा पैसा ब्यक्तिगत रुपमा राखिदिएर सहयोग गर्न सकिने ब्यबस्था गरेको छ किनभने २००४ को भुकम्पमा ब्यक्तिगत रुपमा पनि घटनास्थलमा गै सहयोग गर्ने ब्यक्तिहरुले कति र कसरी सहयोग गरे भन्ने थाहा हुन नसकेकोले काला धन तह लगाउने साधन बन्न पुगेको थियो ।
म बसेको ठाउँमा लगभग आजका दिनसम्म ३ -३ घण्टाको दरले ३ चोटी लोडशेडिङ भयो । त्यस्पछि लोडशेडिङ भएको छैन र अब शायद हुँदैन पनि होला । लोडशेडिङ भएका क्षेत्रमा सडकको सिग्नलले काम नगर्ने हुँदा ट्राफिक ब्यबस्थापन गर्न र ट्रेनको संचालन समय तोक्न सायद सबैभन्दा गाह्रो भएको हुनुपर्छ जापान सरकारलाई मेरो बिचारमा ।
नेपाली समुदाय र चुनामी –
भुकम्प र चुनामी पछि नेपाली संघ संस्थाहरुले प्रभावित क्षेत्रमा आफन्तहरु या चिनेजानेका ब्यक्तिहरु भएको ब्यक्तिहरुले सम्पर्क गर्न कोशिस गर्ने र सम्पर्कमा आएका ब्यक्तिहरु र नआएका ब्यक्तिहरुको जानकारी नेपाली समुदायमा सम्प्रेषण गर्ने यो नै नेपालीहरुको स्थितिको बारेमा जानकारी लिन सकिने स्थिति थियो । किनभने कुन क्षेत्रमा कति नेपाली र को –को छन् भन्ने आंकडा कसैसँग पनि छैन ।
१२ तारिख बिहान (भुकम्प र चुनामी गएको भोलिपल्ट )नेपाली दुताबास टोकियोमा बसेको बैठकले भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समिति गठन गरेको थियो जस्को सल्लाहकारमा महामहिम डा. गणेश योञ्जन तामाङ तथा एन आर एन अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष देबमान हिराचन ज्यू संयोजकमा दुताबासका उपनियोग प्रमुख डा. दुबसु क्षेत्री तथा जापानमा रहेका सम्पूर्ण नेपाली संस्थाहरुको अध्यक्ष सदस्य रहेका थिए । यस्ले प्रभाबित क्षेत्रमा रहेका नेपालीलाई केही समयको लागि टोकियो लगायतका सुरक्षित क्षेत्रमा सार्ने कार्यमा खर्च गर्नको लागि लगभग १६ लाख जापानी येन रकम संकलन गरेको छ । यसका बारेमा पनि बिभिन्न पत्रपत्रिकामा टिका टिप्पणीहरु भए आबश्यक वा अनाबश्यक भन्ने बारेमा तर जापानमा रहेका नेपालीहरुले सरकारको कुनै आशा नगरीकन , पिडित नेपालीहरुलाई केहि भएपनि राहत दिने या सम्भाब्य संक्रमणबाट जोगाउनको लागि केही समयको लागि अन्यत्र बस्ने ब्यबस्था मिलाउन कोशिस गर्नु भनेको उदाहरणीय कार्य हो । पीडित स्थानमा रहेर सम्पर्कमा आएका लगभग ७०-८० नेपालीलाई टोकियो लगायतका स्थानमा ल्याइपुर्याइएको छ । आफन्त हुनेहरुलाई आफन्तको जिम्मा र कोही नहुनेलाई केही दिनको लागि भएपनि खाने बस्ने ब्यबस्था भएको छ । सो समितिका धेरै मित्रहरु अझै पनि कार्यालयमानै हुनुहुन्छ र खबर आदान प्रदान , सम्पर्क गर्दै हुनुहुन्छ ।
जापानमा रहेका नेपालीहरुलाई आणबिक बिकिरण र यसबाट हुने असर बारेमा जानकारी दिने र टोकियो लगायतका अन्य क्षेत्रको हावामा घुलिएर रहेको बिकिरणको मात्रा र त्यस्को असर बारे जानकारी गराउन दक्ष नेपालीहरुको प्राबिधिक टोली गठन गरिएको छ जस्लाई स्थानीय नेपाली मिडियाहरु समुद्रपारि डट कम , नेपाल जापान डट कम , टोक्यो नेपाल डट कम , र नेपाली समाचार पत्र को माध्यमबाट प्रकाशित गर्ने र सुसुचित गर्ने कार्य भै रहेको छ तर अशिक्षित र अर्ध शिक्षित नेपालीहरुको बाहुल्य रहेको टोकियोमा उहाँहरुले बुझ्ने भाषामा प्राबिधिक कुराहरु प्रेसित गर्नको लागि निकै टाउको खियाइरहनु भएको छ तिलक मल्ल जी , भुषण घिमिरे जी लगायतका पत्रकार मित्रहरु ।
हामी नेपालीहरुका केही साह्रै नराम्रा कमजोरीहरु छन् मानसिक दरिद्रताहरु छन् जुन बिशेष समयमा मात्र थाहा हुन्छन् , प्रकट हुन्छन् या देखिन्छन् यस्ता केही उदाहरणहरु देखें यो समयमा पनि । अहिले शायद जापानमा रहेको नेपाली समुदायले अनुभव गरेको तिक्तता भनेको नेपाली दुतावासको आकस्मिक स्थानान्तरण हो । अघिल्लो दिनसम्म नेपालीहरुको उध्दार कार्यमा संलग्न भएका दुताबासका कर्मचारीहरु र दुताबास परिवार कुनै नेपाली संघ संस्थाहरु यहाँ सम्म कि दुतावास आफैंले गठन गरेको भूकम्प तथा सुनामी प्रभावित पीडित नेपाली सहयोग समितिका सदस्यहरु समेत कसैलाई खबर नगरी हराए , सम्पर्क बिहीन भै दिए । उनीहरुको ब्यक्तिगत मोबाइल या दुताबासको फोन कुनैमा कसैको सम्पर्क हुन सकेन अनि त्यतिकैमा नेपालका कान्तिपुर लगायतका मिडियामा दुताबास टोकियो बाट ओशाका सरेको खबर आयो । अनि जापानमै रहेका केही थोरै ब्यक्तिहरुले पनि आफूले यस्को सुईंको सम्म पाएको त्यस्पछि खबर नभएको जानकारी गराए पछि रुष्ट भए नेपाली समुदायहरु दुताबास परिवारसँग बिशेष गरी ३ वटा कारण देखेको छु यसरी रुष्ट हुनुमा । १) जापानका मिडियाहरुबाट आएको जानकारी गलत हो भन्ने भ्रामक प्रचार बिबिसि , सिएनएन, आजतक लगायतका टेलिभिजनले प्रचार प्रसार गरिरहनु र दुतावास पनि भाग्नुमा केही बिशेष कारण पक्कै छ भन्ने नेपाली समुदायलाई लाग्नु । २ ) नेपालीहरुको अभिभावकत्व निर्बाह गर्नुपर्ने दूताबासले आफ्नो बारेमा मात्र सोच्नु यहाँ समुदाय प्रति जबाफदेहिता नरहेको ब्यबहार गर्नु । ३) यो बेलामा नेपाल फर्कन खोज्ने केही नेपालीहरुको दूताबासबाट सम्पन्न हुनुपर्ने काम रोकिनु ।
आजका दिनसम्म कहिले सरेको , कहिले सर्नको लागि संभाब्यता अध्ययनको लागि गएको अनि कहिले यहीं टोकियोमानै रहेको भन्ने बिज्ञप्ती र फोनमा भएका कुराहरु बाहिर आइरहेका छन् हेरौं अब के खबर आउने हो ? अनि नेपाली समूदायसँग कसरी दूताबास परिवार प्रस्तुत हुने हो ।

यो कुरा राम्रो हो कि यहाँका नेपालीहरुले केही दिन भित्रै १६ लाख रुपैंया उठाउन सके अझ आबश्यक पर्यो भने त्यो भन्दा पनि धेरै उठ्न पनि सक्छ तर केही नेपालीहरुको चर्चाको लागि समाजसेवा गर्ने चलन , बानी यहाँ पनि देखियो , पैसा हस्तान्तरण गरेको फोटो खिच्नु पर्ने , समाचारमा प्रकाशित हुनुपर्ने ।हामिमा यस्तो चलन छ नि कुनै मन्दिर वा पाटी वा बाटो बनाउन पर्यो भने यति रकम भन्दा बढी दिनेको नाम शिलालेखमा राखिने छ आदी हामीले समाजसेवा गर्नको लागि थोरै अनि देखाउनको लागि धेरै गरेका छौं । जापानको अरु टेलिभिजन जस्तै फुजी टेलिभिजनले पनि पिडितहरुलाई सहयोग गर्नको लागि अनुरोध गर्यो र बैंकको खाता नं प्रशारण गर्यो त्यस्को केही घण्टा पछिको खबरमा बिसौं करोड येन जम्मा भएको र ती सहयोगी सबैमा हार्दिक आभार प्रकट गर्दै अन्य सहयोग गर्न चाहनेहरुको लागि पून: त्यहि खाता नं दोहोर्यायो । खै त तिनका नाम समाचारमा आएनन् तिनका फोटो पनि पत्रिकामा छापिएनन् हुनसक्छ ती मध्ये धेरैले १०० येन मात्र पनि दिएका हुनसक्छन् या केहिले करोड- करोड पनि राखेका हुनसक्छन ।
लोडशेडिङको गर्ने सूचना जारी भैसकेपछि पनि सकेसम्म लोडशेडिङ् कम गर्नको लागि टोकियो बिद्युतले सबैमा बिद्युत बचतको लागि अनुरोध गर्यो , धेरै पसलहरुमा बत्ती कम बाल्ने , एअरकण्डिसनर नचलाउने , र यहाँ सम्म कि पसलको अगाडि कागतमा ओपन भनेर लेखेर बाहिरको बत्ती निभाउने पनि गरे धेरैले केही नेपालीहरुले पनि तर थोरै नेपालीहरुको प्रतिनिधित्व गरेका मेरा एक नेपाली मित्रको कमेण्ट थियो “ पैसा जोगाउने निहुँ पाएका थिए जोगाइहाले” । जय होस हाम्रो सोच ।
भुकम्प पछि आफन्तहरुको खबर पाउन सजिलो होस् या आफू सुरक्षित रहेको जानकारी गराउन सजिलो होस भन्ने उद्देश्यले केही दिन पब्लिक फोन मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय फोन सेवा निशुल्क गरिदिएको थियो सरकारले , अरुले प्रयोग गरे कि गरेनन् कुन्नी तर केही नेपालीहरुले भरपुर प्रयोग गरे २४ घण्टानै झुन्डिएर , कुरा सकिएपछि पनि फोन रिसिभर बाहिर झुण्ड्याएर नै हिडें रे कति ठाउँमा पुलिस र जापानीजबाट चेतावनी पाए र केहीलाई पुलिसले पक्रिनु समेत पर्यो रे भन्ने चर्चा आजभोलि प्रशिध्द भएको छ नेपालीहरुको बारेमा , थोरैले गरेर पुरै समुदायनै मुछिनु पर्ने बाध्यता पनि हुन्छ परदेशमा । हुन त अरु देशकाले पनि गरे होलान् जापानीजहरु पनि कम्ताका त छैनन भनेर चित्त बुझाउनुको बिकल्प छैन ।
एउटा नेपाली उखान छ -काम छउन्जेल भाँडो सकिएपछि ठाँडो । यो नेपालीहरुमा मात्र लागू हुने वा भएको भन्ने कुरा हैन पुरै मानव समुदायको सोच हो अनि यो सोच जति बिकसित देश भयो त्यति बढी र जति तागत बढी भयो त्यति बढी हुन्छ , जापानबाट फर्कने बिदेशीहरुको हूलले यही जनाउँछ । कुनै बिशेष जाति या समुदाय या देशका ब्यक्तिहरु माथि आक्रमण भयो या हेपिए या लखेटिए भने जस्तै : भुटानी नेपालीहरु लखेटिए जस्तै । बाहेकका मानबीय बिपत्ती या प्रकोपमा जहाँ आफू बसिएको छ रहिएको छ त्यहिं बसेर त्यो अनुभब गर्नुपर्छ भोग्नु पर्छ , । आज बिपत्तीको बेलामा भागेर जानेहरुले भोलि फर्केर त्यही छिमेकी , त्यही साथीभाइ , त्यही सहकर्मीहरुसँग कसरी काम गर्लान ? उनीहरुले के सोच्लान ? र आफूले के सोचिएर काम गरिएला ?

जापानमा आएको यो बिपत्तीबाट चाँडै यो जापान र जापानीहरुसँगै यहाँका नेपाली र अन्य बिदेशी समूदायले पनि उम्किन पाउन । फेरि उही स्वस्थ जापान फर्कियोस् ।
यो चुनामी र भूकम्पबाट मृत्यु र बेपत्ताहरुको संख्या २१हजार पुगेको छ । मृत्यु हुनेहरुको आत्माको चीर शान्तीको कामना गर्दै परिवार तथा आफन्तमा धेर्यधारण गर्न सक्ने शक्ति भगवानले प्रदान गरून् । बेपत्ताहरु सकुशल भेटियून् र यो संख्या यो भन्दा नबढोस् यही कामना गर्दै ।