Thursday, 29 October 2009

गजल

चोखो माया बोकी ,आउँछु ।
बाँकि सास रोकी ,आउँछु ।

हराउने है अब हामि ।
घर ताल्चा ठोकी ,आउँछु ।

हेर्न लगाई हात, चिना ।
तिथि गते तोकी ,आउँछु ।

तिम्रो सुख मेरो संसार ।
यहि पाठ घोकी ,आउँछु ।

दिनेशले सोध्दा लाजले ।
भन्यौ ओठ टोकी ,आउँछु ।

Saturday, 3 October 2009

गजल

मनको हाल बताउँछ आँसु ।
बिनासित्ति कहाँ आउँछ आँसु ।

बाध्यता थियो या लाज डर ।
सुस्केरामै जो पचाउँछ आँसु ।

मनमा होला के तिनीहरुको ।
जो लेख्छ आँसु जो गाउँछ आँसु ।

मन हलुङ्गो भएर थाहा भो ।
झरे पछि पो मुस्काउँछ आँसु ।

अहँ तिम्रो दैब हैन दिनेश ।
मान्छे हो र त बगाउँछ आँसु ।

Friday, 2 October 2009

गजल

जति फुकायो उति गाँठो ,कसियो लौ हेर ।
उत्रिनु को सक्यो मायामा ,फसियो लौ हेर ।

आउँछन् सान्त्वना मुठी ,दुई बाँड्नेहरु ।
याचक भएर चोकमा, बसियो लौ हेर ।

जहिले पनि भै रहेर ,मात्र भेटौँ भेटौं ।
जान्न भन्दै उन्कै गल्ली , पसियो लौ हेर ।

आँखामा सपना छैन ,भाग्यमा आबादी ।
गेरु बस्त्र अनि खरानी ,घसियो लौ हेर ।

दिनेशलाई झुक्याए ,भनेर माया हो ।
आफ्नै हातले छुरी ओहो ,धसियो लौ हेर ।

Tuesday, 29 September 2009

गजल

सुनसान रातभै चुपचाप टोल्हाउँछु हुन्न हजुर ?
जून भै आउनुहुँदा छातिमा लुकाउँछु हुन्न हजुर ?

कविका मनसँगै हजुर कवितामा आउनुहुँदा ।
भाव सँगै सँगै मनमनै मुस्काउँछु हुन्न हजुर ?

मायाको सागरमा दुखको थोपा पनि पर्नेछैन ।
यति माया दिन्छुकि खुशिले रुवाउँछु हुन्न हजुर ?

फूलझैं आउनु भए शिरमा राख्छु प्रसाद सम्झी।
पत्थर भए एउटा मन्दिर बनाउँछु हुन्न हजुर ?

दिनेशलाई थाहा छ कति बेइमान छ दुनिया ।
जानेका नढाँटी सबै रहस्य बताउँछु हुन्न हजुर?

Tuesday, 22 September 2009

गालिबका २ सेर

त्यसो त मलाई गालिबका हरेक गजल सुन्दर लाग्छन् तर कुनै परिबेश अनि दृश्यले कुनै सेरहरुलाई अझ मजबुत अनि जिबन्त बनाई दिन्छन। आज मलाई पनि केहि सेरहरु आफ्नो तरिकाबाट बुझ्न मन लाग्यो त्यसैले यो कोशिस गरेको , यसको सहि अर्थ मैले लगाएको अर्थनै नहुन पनि सक्छ त्यसैले शुरुमानै भन्छु यी मैले आफ्नो तरिकाबाट अर्थ्याइएका सेरहरु हुन् ।केहि अगाडि दिपक खड्का जीले पनि निदा फाज्लीको एक गजल चिरफार गर्नु भएको थियो त्यहि बाट अलिकति प्रेरित पनि भएको हुनसक्छु ।
हे बस कि हरेक उनके इशारेमें निंशा और ।
करतें हें मोहब्बत तो ,गुजरता हें गुमां और ।
( कहिलेकाहि माया नचाहदा नचाहदै पनि शंका भैदिन्छ ,एक ले अर्कोलाई बिश्वास दिलाउने रहरमा बास्तबिकता बाट अलिकति टाढियो भने , दिन दुई गुना रात चार गुना को दरले बढ्दै जान्छ । माया भएकोले टाढिनु पनि नसक्ने अनि नजिक हुन कोशिस गर्यो सानो कुरामा पनि शंका बढ्दै जाने ,शायद यहि हालत बाट गालिब गुज्रिएका होलान र त लेख्छन । हरेक उनको गराइ बोलाइमा अर्थोक नै पाउँछु ।माया त गरिराछु तर शंका झनझन बढिराखेको छ ।)
या रब ओ ना समझे हें ना समझेगें मेरि बात ।
दे और दिल उनको जो ना दे मुझको जुबाँ और ।
(आँ गर्दा अलंकार बुझ्ने मान्छेहरु दुनियांमा नभएका हैनन् तर कोहि कुरो बुझेर ,बुझ्दैनन कि नबुझी बुझ्दैनन् सम्झाउन लाख शब्दहरु खर्च गरेपनि बुझ्दैनन या भनौं उनीहरुलाई बुझाउन सकिन्न ।अनि थकित हुन्छन सम्झाउन कोशिस गर्नेहरु अनि भन्न बाध्य हुन्छन हे दैब ।यहि स्थिति लाई कति सरलताका साथ लेखेका छन् हे भगवान उस्ले मेरो कुरा नबुझेको छ न बुझ्छ त्यसैले उसलाई बुझ्ने बनाईदेऊ “यहाँ मायाको कुरा भएकोले मनले बुझोस् भन्ने अभिप्राय” मसँग भएका शब्दहरु मैले प्रयोग गरिसकें ,त्यसैले मलाई फेरि सम्झाऊँ न त भन्ने नलागे हुन्थ्यो ।)

Wednesday, 16 September 2009

गजल

पुरानो मतलामा नयाँ सेरहरु ।

कोरा आश्वासन ,छर्क-छर्क फेरि ।
भनन अझैनि ,पर्ख- पर्ख फेरि ।

आँगनमा पुगेर, चिनारी भएन ।
भो अब नभन , फर्क- फर्क फेरि ।

सुनको भाउ भन्दा उनको महँगो ,
अझै दिन छन् ,चर्क- चर्क फेरि ।

हेरौं मनाउन को आउने रैछ ।
नबोली मसँग ,तर्क-तर्क फेरि ।

मुश्किलले फर्केको थिइस् दिनेश
किन डुल्दैछस् , नर्क-नर्क फेरि ।

Sunday, 30 August 2009

गजल

कोरा आश्वासन्, छर्क -छर्क फेरि।
भनन अझै नि ,पर्ख -पर्ख फेरि ।

हिजोकाले जे गरे त्यहि गर ।
जिम्मेवारी त हो ,तर्क-तर्क फेरि


छोडेर सहर के जान्छ मेरो ।
गाई डुलाउँछु ,खर्क -खर्क फेरि।

खेतका आली खोज्दैछन टेका ।

ए हातहरु हो , फर्क -फर्क फेरि ।

खहरे सुक्यो, पसिना समुद्रमा ।

असार साउन ,दर्क-दर्क फेरि ।