Saturday, 29 May 2010


नदिझैं रगत, बगेको हुन्छ ।
लाग्दो हो तिम्लाई, बोलेको हुन्छ !

लेखेरै दिऊँकी त्यसैले जवाफ ।
भन्छन जे हुन्छ लेखेको हुन्छ ।


ईशारा, आँखामा त्यो छल कहाँ ?
शब्द छ त्यसैले ढाँटेको हुन्छ ।


तिर्सना मनको ,खहरेझै उर्ल्यो ।
जम्नेको के हुन्छ ? बग्नेको हुन्छ ।

बुझ्दैन दिनेश?समस्या कस्तो हो?
समय थपेनी ,टारेको हुन्छ ।

Thursday, 11 March 2010

गजल

त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।

सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।

कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।

भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।

अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।

गजल

गएपछि होश अँ पिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।

आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।

पानापाना मन , फलेंथे गजल ।
ढिलो गरी आयौ , टिपिएँ शायद ।

अब आऊ हेर , बेरङ्ग मनमा ।
यति चोट छ्यापे ,रङ्गिएँ शायद ।

गजल

थकान यो बिर्सी मैले सुस्ताउनु पर्थ्यो ।
ए रात तँ सँगै निन्द्रा नि आउनु पर्थ्यो ।

भरेर थालिमा स्वर्ण सुख हुने भए ।
मन्दिर जानेले भट्टी किन धाउनु पर्थ्यो ।

देखिए आँखामा आँसु भएँ बिचरा म ।
हे दैब संसार अन्धै बनाउनु पर्थ्यो ।

बिहान कोदालो बिसाइ भन्थिन आमा ।
गाउँमा गरेर खान त पाउनु पर्थ्यो ।

दिनेश कहिले काहिं कोठा थुनी हाँस्छ ।
झुट सही कतै मन रमाउनु पर्थ्यो ।

Saturday, 27 February 2010

गजल

हर तीर मुटु माझ रोपेर पिइरहें ।
माया सम्झी दुख काँध बोकेर पिइरहें ।

दोबाटोमा पुगेपछि देखिन्छ माया के हो !
बढ्नखोज्ने मेरा पाउ रोकेर पिइरहें ।

डराउनु लजाउनु कसको लागि अब ।
बीच बाटो हेर छाती ठोकेर पिइरहें ।

बढ्छु अघि तेर्सिन्छन हजार बाधाहरु ।
हात अनि हस्तरेखा जोखेर पिइरहें ।

एकैनास कहाँ हुन्छ दिनेश बुझी राखे ।
कतै खुले कतै अलि छोपेर पिइरहें ।

Thursday, 25 February 2010

गजल

सानो सानो चोटमा दैब भाक्नुको अर्थ ।

बाँचेर के बुझेकै हो त बाँच्नुको अर्थ ।


आँगनमा दोहोरी बैरी खेल्छन मेरो ।

यही त हो आँखामा आँशु नाँच्नुको अर्थ


लुछाचुडी गर्छन सबै छानोमा हाम्रो ।
बुझे होला शिरैमा जून हाँस्नुको अर्थ ।

रङ्गहरु नभाको खोज्छु सुन्दर फूल ।
हो हो यही घरको भित्ता ताछ्नुको अर्थ ।

गजलमा दिनेश कति भेटिन्छ सुख ।
खुशिनै हो छातिमा हात राख्नुको अर्थ ।

Sunday, 31 January 2010

गजल

गाँसिएका धागा तोडेर के हुन्छ !
जथाभावी बाटा मोडेर के हुन्छ !


समयले भन्थ्यो बिर्सनु पर्ने त ।
यो घाउ हो घाउ गोडेर के हुन्छ !

मिलाउनु काँध छदैछ उसै नि ।
अभिमान अलि छोडेर के हुन्छ !

रहिरह्यो तुक मनमा सधै नै ।
हाँसिहाँसी हात जोडेर के हुन्छ !

पढ्दैछन दिल आजका नजर ।
यो नकाब सयौं ओडे(ढे)र के हुन्छ !