घर छोडी ,कम्ता हण्डर खाइएन आमा ।
छैन काम ,खाने सामल पाइएन आमा।
साहुहरु घरमा ,ताकेता गर्दा हुन् ।
कसरी तिर्नु ,थोरै ऋण लाइएन आमा ।
चुहियो खरको छानो, बुईगल भरी पानी ।
बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।
मादलुको ताल सँगै, कम्मर मर्काउँदै।
रोधि प्यारो ,अरु गीत गाइएन आमा ।
फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।
मर्छु काखमा,अरु धन चाहिएन आमा ।