Tuesday, 19 March 2013

गजल


जो अरुका लागि बग्छन ती हुन आँसु ।
आफ्नो लागि बगे नौटंकी हुन आँसु ।

तिम्ले चाहेर कहाँ आउँछ तिम्रा लागि
मनले बाँध्न नसक्ने  परिधी हुन् आँसु ।

छोरा सम्झेर भक्कानिदैँछिन यौटी आमा ।
हेर , सम्झ यी हुन् आँसु यी हुन आँसु ।

खोज्न सपना परदेसिएँ जहिले देखि ।
सोच्छु सधैं कति हुन कति हुन आँसु । 

Sunday, 10 March 2013

गजल


दुश्मनहरुसँग संगत कम छ ।
त्यसैले बाँच्ने हिम्मत कम छ ।

सब दरिद्रहरु राजनीतिमा जाऊ ।
व्यवसाय हो लागत  कम छ ।

सुन्छु समाचार अनि शब्दकोश हेर्छु ।
आज सहभागिता बृहत कम छ ।

चारजनाको भेलाले निर्णय गर्छ ।
सहमती हुन्छ सहमत कम छ ।

हरेक वर्षाले मुटु हल्लाउँछ मेरो ।
समस्या घर छोप्ने छत कम छ ।

दिनेशलाई बहरमा लेख्नेहरु भन्छन।
गजल ठीक छ यस्मा इज्जत कम छ ।

Wednesday, 6 February 2013

गजल


सधैं भइरह्यो दोमन ,हुन्छ कि हुन्न ?
क्रान्ती पछि परिबर्तन हुन्छ कि हुन्न ?

बिर्से शहिदलाई सहिद बनाउनेले ।
साँच्चै मृत्युपछि जीवन हुन्छ कि हुन्न ?

वर्षौं त्यही छु जहाँ वर्षौं देखि थिएँ ।
महासय यो प्रतिगमन हुन्छ कि हुन्न ?

गरिबको जे-जे थियो सब खायौ सक्यौ ।
सर्कार तिम्लाई अमन हुन्छ कि हुन्न ?

Tuesday, 9 October 2012

गजल


अझै बाँकी हाम्रो माया तस्बीरमा ।
तिम्ले टाँगी दियौ माला तस्वीरमा ।


घरबाट निस्कदाँ कस्तो भुलिएछ ।
धुलो लाग्नेछ फर्कदा तस्वीरमा ।


हर रात बिछोडका यस्तै गरी बिते ।
दायाँ हात छातीमा बायाँ तस्वीरमा ।

जवाफ त्यै आउँछ जुन सोच्दछु ।
त्यसैले त कुरा पक्का तस्वीरमा ।

यतै हिमाल तराई हावा भै घुम्दैछ ।
दिनेशलाई खोज्छ दुनियाँ तस्वीरमा ।

Thursday, 20 September 2012

गजल


बाँच्नलाई त आत्मा जीबित चाहिन्छ ।
आउने समय सपना सहित चाहिन्छ ।

हारिदिन्छु तिम्रा लागि मेरा सम्पूर्ण ।
कस्ले भन्छ खुशी हुन जीत चाहिन्छ ।

दुई चार थोपा आँसु झरे त के भो ।
बिहानीको लागि थोरै शीत चाहिन्छ ।

ईज्जतको भाउ हो त मलाई के थाहा ।
कि कुलिन चाहिन्छ कि पतित चाहिन्छ ।

Wednesday, 22 August 2012

गजल


  जति लगाइदिए पनि भैगो गफै त हो ।
जवाफदेही हुनुपर्ने भए पो ! गफै त हो ।

भन्न मन लाग्छ मन्दिर पुग्दा कहिले ।
चिन्या छस् तैंले म को हो ? गफै त हो ।

मेरा गजल पढेर महोदयले भन्नु भो ।
छोड लेख्न गर काम अर्को , गफै त हो ।

तिम्रा पछाडि लागिन्न अब मैले भने ।
नेता मुसुक्क हाँस्यो र भन्यो , गफै त हो ।

केटा-केटीमा तैंले देखिस् जे- जे सपना ।
भन्दे दिनेश सब पूरा भो , गफै त हो । 

Wednesday, 8 August 2012

गजल


याद ओसारी शब्दका भेल आउँछन् ।
भाग्यमानीलाई बाँचुन्जेल आउँछन् ।

बाँच्नु भनेको लुट्नु हो , यस्ता बिचार ।
पहिले आउँदैनथे अचेल आउँछन् ।


दिनेश हारेर मुटु चुपचाप सोचिरह्यो ।
दुनियाँमा कस्ता-कस्ता खेल आउँछन् ।