Thursday, 20 September 2012

गजल


बाँच्नलाई त आत्मा जीबित चाहिन्छ ।
आउने समय सपना सहित चाहिन्छ ।

हारिदिन्छु तिम्रा लागि मेरा सम्पूर्ण ।
कस्ले भन्छ खुशी हुन जीत चाहिन्छ ।

दुई चार थोपा आँसु झरे त के भो ।
बिहानीको लागि थोरै शीत चाहिन्छ ।

ईज्जतको भाउ हो त मलाई के थाहा ।
कि कुलिन चाहिन्छ कि पतित चाहिन्छ ।

Wednesday, 22 August 2012

गजल


  जति लगाइदिए पनि भैगो गफै त हो ।
जवाफदेही हुनुपर्ने भए पो ! गफै त हो ।

भन्न मन लाग्छ मन्दिर पुग्दा कहिले ।
चिन्या छस् तैंले म को हो ? गफै त हो ।

मेरा गजल पढेर महोदयले भन्नु भो ।
छोड लेख्न गर काम अर्को , गफै त हो ।

तिम्रा पछाडि लागिन्न अब मैले भने ।
नेता मुसुक्क हाँस्यो र भन्यो , गफै त हो ।

केटा-केटीमा तैंले देखिस् जे- जे सपना ।
भन्दे दिनेश सब पूरा भो , गफै त हो । 

Wednesday, 8 August 2012

गजल


याद ओसारी शब्दका भेल आउँछन् ।
भाग्यमानीलाई बाँचुन्जेल आउँछन् ।

बाँच्नु भनेको लुट्नु हो , यस्ता बिचार ।
पहिले आउँदैनथे अचेल आउँछन् ।


दिनेश हारेर मुटु चुपचाप सोचिरह्यो ।
दुनियाँमा कस्ता-कस्ता खेल आउँछन् ।

Thursday, 26 July 2012

गजल

आजभोलि यही सानो कुराको अभाव भन्नुपर्छ । 
असल लाई असल खराबलाई खराब भन्नुपर्छ ।

तिम्रो गाउँमा नआउने कसम खाएँ हिजै मात्र ।
घमण्ड ? हैन -हैन यस्लाई स्वभाव भन्नुपर्छ ।

खै !कहिले होला मेरो सपनाको देश मेरो देश ?।
कहिलेकाँही प्रश्ननै प्रश्नको जबाब भन्नुपर्छ । 

असारमा रसाउने मूललाई अरु के नै भनौं?
यसो गरौंआँसु नभनौ बर्षाको प्रभाव भन्नुपर्छ 

Saturday, 7 July 2012

गजल

रातमा निंदको सट्टा याद आउँछन अनि रिस उठ्छ ।
परेली बन्द नहुँदै सूर्य उदाउँछन अनि रिस उठ्छ ।

त्यस्को भन्दा उस्का धेरै राम्रा थिए कबिता-कथा ।
कस्ता-कस्ताले पुरस्कार पाउँछन अनि रिस उठ्छ ।

म ब्यबहारको कुरा गर्छु , ऊ जीतहारको कुरा गर्छ ।
सुन्नेले आफ्ना-आफ्नै अर्थ लाउँछन अनि रिस उठ्छ ।

पूरै बगैँचा घुमेर दिनेश रित्तो हात फर्कियो ।
मान्छे फूलदानी घरमा सजाउँछन अनि रिस उठ्छ । 

Wednesday, 4 July 2012

गजल


सत्य सत्कार हिजोआज उखान भएछन ।
हिजो ठगी भन्थे आज वरदान भएछन् ।


धेरै मेहेनत पछि दिए दर्शन मलाई ।
मेरा यारहरु पनि भगवान  भएछन ।

तिम्रो गाउँ भेटेपछि बढ्दैनन कतैपनि ।
मेरै खुट्टाहरु अब बेइमान भएछन ।


जिम्मेवारी बोध गर्ने उमेर हो र भन्छु ।
केही गल्तीहरु हो त जानाजान भएछन् ।

दिनेशले खुब जतनले बनाएथ्यो बगैंचा ।
होश आयो र देखें सब रछ्यान भएछन ।

Sunday, 17 June 2012

गजल


शितल हावा दिने छहारी छ दोषी । 
म निदाउनुमा चौतारी छ दोषी ।

मेरो पनि आफ्नै घर हुन्थ्यो होला ।
 सडकमा हुनुमा भिखारी छ दोषी ।

म अहिलेसम्म जिउँदै रहनुमा ।
मलाई विष बेच्ने ब्यापारी छ दोषी ।

मैले पनि बजाएँ ताली अरु जस्तै ।
उस्ले जब भन्यो पारि छ दोषी ।

चिया पसल घुमेर बाँच्न जान्नुमा । 
बाउको नामको खेत बारी छ दोषी ।