Monday, 2 April 2012

गजल

घरबाट ननिस्कनू खबरदारी आएको छ !!

सडकमा बन्दकर्ताको सवारी आएको छ !!


हाम्रो भेट हुन्छ भन्ने जानकारी आएको छ ।

बाँकी न म पारी जान्छु न ऊ वारी आएको छ ।।


मागी हिजो बटुलेंथे ,दैव रहोस बाँकी थोरै ।

मेरो पनि झोपडिमा त्यो भिखारी आएको छ ।


लुट्नेहरु मोटाउने लुटिने चाहिं दुब्लाउने ।

गाउँमा यो कस्तो अनौठो बिमारी आएको छ ।


यो बिभेद हुनु हुन्न त्यसैले बिद्रोह सही ।

भट्टीमा लड्खडाउँदै तागाधारी आएको छ ।


अब देश फेरिनेछ दिनेश पक्कै फेरिनेछ ।

महँगो गाडी चढेर क्रान्तिकारी आएको छ ।

गजल

देखिएकै होलान यी फेर बदल मेरा ।
उन्को एक बोली र सय गजल मेरा ।

फर्किएर पूराना तस्वीर पल्टाउँछु ,
ओहो निकै रैछन साथी असल मेरा ।

बालुवा बोक्ने ज्यामी बालुवामै पुरिएथ्यो ।
साह्रो दुखले ठडिएका हुन् महल मेरा ।

महँगाई आकाश छुन्छ त के गरूँ मैले ।
म बदलिन्न उही चहल पहल मेरा ।

गजल

उही नाटक बारम्बार भएको छ ।

दर्शक माथि अत्याचार भएको छ ।


छैन भेटेको नविनता गजलमा ।

सेर पुरानै यी साभार भएको छ ।


मुटु धड्किन बन्द भयो आजबाट ।

हालत केही त सुधार भएको छ ।


सत्रौं शताब्दी फर्किएर जानुहोला ।

नयाँ नेपाल आबिष्कार भएको छ ।

Sunday, 9 October 2011

गजल

न आबेगमा थिएँ न त रिसमा थिएँ

आफ्नै मुद्दा आफैं न्यायाधिशमा थिएँ


डायरी अनि दैनिकीले यही भने

धेरै चोटी सुध्रिने कोशिसमा थिएँ


खोज्न आएथे रे घाम चर्किएपछि

म शीत जीबित झिसमिसमा थिएँ


म पानी यसरी अब पानी रहिन

थोरै अमृतमा थोरै बिषमा थिएँ


मेरो पागलपनले , थर्काउँछ मलाई

तँ को होस् म हुँ जो हर मानिसमा थिएँ

गजल

तिम्रो माग पूरा यो भएहुन्थ्यो ।

फेरि तिमी को म को भएहुन्थ्यो ।


संसारमा दैव छ तिम्ले भन्यौ,

हाँस्दै मैले भने हो भएहुन्थ्यो ।


काट्न दशा जन्तर किन्दै सोच्छु ।

कतै केही त चोखो भएहुन्थ्यो ।


छोड यार सक्दैनौ मनाउन ।

उनै हुनुपर्छ जो भएहुन्थ्यो ।


बारी-बारी हाँस्दैछन लालुपाते ।

यति थाहा भएको भएहुन्थ्यो ।

Friday, 2 September 2011

गजल

माया ब्यापार हुनुपर्छ, छानी –छानी भएको छ ।

यो लेख्दा दिनेश लाजले पानी-पानी भएको छ ।


जहाँ तरबार तेर्सिएथ्यो ,त्यहीं राखें खुट्टा आफ्नो ।

माफी कस्लाई यहाँ गल्ती जानी –जानी भएको छ ।


तिम्रा गजल चुप रहे , अनि उस्को गला पनि ।

हाहा भाषण यहाँ लेघ्रो तानी –तानी भएको छ ।


आज लाडिन्छु केही छिन , आमा तिमी भन फेरि ।

कैले है ठूली-ठूली कैले सानी-सानी भएको छ ।


आँखा चिम्लेर हेर्छु जब ,चाहेझैं छ यो संसार

ढुङगा पनि त देवता ठानी –ठानी भएको छ ।


तमाशा हेर्न पर्खिबसें , बगरमा दिल छोडेर ।

किन तुफान अब चाहिं, ज्ञानी –ज्ञानी भएको छ ।

Monday, 22 August 2011

गजल

मेरो आफ्नै आकाश हुनुपर्छ आजबाट ।

केही कुरा त खास हुनुपर्छ आजबाट ।


हराएथ्यो जिन्दगी बालुवामा पानीजस्तै ।

म हुनुको आभाष हुनुपर्छ आजबाट ।


दैब तेरो भरमा पाखुरीले छोड्यो धर्म ।

थोरै देबत्व नास हुनुपर्छ आजबाट ।


बल छल मा नझुकेको सत्य-तथ्य लेखिएको ।

नबीन ईतिहास हुनुपर्छ आजबाट ।


जे-जे बित्यो सकियो आऊ अब यस्तो सोचौं ।

काँडासँग सुवास हुनुपर्छ आजबाट