Wednesday 20 March 2013

गजल


तिमी पनि धर्तिमा आऊ अनि कुरो हुन्छ ।
दैवीशक्तिको फूर्ति नलाऊ अनि कुरो हुन्छ ।
परिवारसँग बसेर प्रवासीमाथि हाँस्नेहरु ।
मैले जति पसिना बगाऊ अनि कुरो हुन्छ ।
हो ठीक मेरा गजल सब बकवास हुन् ।
तिमी राम्रो लेखेर देखाऊ अनि कुरो हुन्छ ।
भो –भो मेरा नाम नजोड्नु मायालुमा ।
कि यादमा कि निंदमा आऊ अनि कुरो हुन्छ ।
फेरि आयौ तिमी मलाई सम्झाउन यार ?
मलाई एकछिन भुलेर जाऊ अनि कुरो हुन्छ ।

Tuesday 19 March 2013

गजल


जो अरुका लागि बग्छन ती हुन आँसु ।
आफ्नो लागि बगे नौटंकी हुन आँसु ।

तिम्ले चाहेर कहाँ आउँछ तिम्रा लागि
मनले बाँध्न नसक्ने  परिधी हुन् आँसु ।

छोरा सम्झेर भक्कानिदैँछिन यौटी आमा ।
हेर , सम्झ यी हुन् आँसु यी हुन आँसु ।

खोज्न सपना परदेसिएँ जहिले देखि ।
सोच्छु सधैं कति हुन कति हुन आँसु । 

Sunday 10 March 2013

गजल


दुश्मनहरुसँग संगत कम छ ।
त्यसैले बाँच्ने हिम्मत कम छ ।

सब दरिद्रहरु राजनीतिमा जाऊ ।
व्यवसाय हो लागत  कम छ ।

सुन्छु समाचार अनि शब्दकोश हेर्छु ।
आज सहभागिता बृहत कम छ ।

चारजनाको भेलाले निर्णय गर्छ ।
सहमती हुन्छ सहमत कम छ ।

हरेक वर्षाले मुटु हल्लाउँछ मेरो ।
समस्या घर छोप्ने छत कम छ ।

दिनेशलाई बहरमा लेख्नेहरु भन्छन।
गजल ठीक छ यस्मा इज्जत कम छ ।