Sunday, 9 October 2011

गजल

न आबेगमा थिएँ न त रिसमा थिएँ

आफ्नै मुद्दा आफैं न्यायाधिशमा थिएँ


डायरी अनि दैनिकीले यही भने

धेरै चोटी सुध्रिने कोशिसमा थिएँ


खोज्न आएथे रे घाम चर्किएपछि

म शीत जीबित झिसमिसमा थिएँ


म पानी यसरी अब पानी रहिन

थोरै अमृतमा थोरै बिषमा थिएँ


मेरो पागलपनले , थर्काउँछ मलाई

तँ को होस् म हुँ जो हर मानिसमा थिएँ

गजल

तिम्रो माग पूरा यो भएहुन्थ्यो ।

फेरि तिमी को म को भएहुन्थ्यो ।


संसारमा दैव छ तिम्ले भन्यौ,

हाँस्दै मैले भने हो भएहुन्थ्यो ।


काट्न दशा जन्तर किन्दै सोच्छु ।

कतै केही त चोखो भएहुन्थ्यो ।


छोड यार सक्दैनौ मनाउन ।

उनै हुनुपर्छ जो भएहुन्थ्यो ।


बारी-बारी हाँस्दैछन लालुपाते ।

यति थाहा भएको भएहुन्थ्यो ।

Friday, 2 September 2011

गजल

माया ब्यापार हुनुपर्छ, छानी –छानी भएको छ ।

यो लेख्दा दिनेश लाजले पानी-पानी भएको छ ।


जहाँ तरबार तेर्सिएथ्यो ,त्यहीं राखें खुट्टा आफ्नो ।

माफी कस्लाई यहाँ गल्ती जानी –जानी भएको छ ।


तिम्रा गजल चुप रहे , अनि उस्को गला पनि ।

हाहा भाषण यहाँ लेघ्रो तानी –तानी भएको छ ।


आज लाडिन्छु केही छिन , आमा तिमी भन फेरि ।

कैले है ठूली-ठूली कैले सानी-सानी भएको छ ।


आँखा चिम्लेर हेर्छु जब ,चाहेझैं छ यो संसार

ढुङगा पनि त देवता ठानी –ठानी भएको छ ।


तमाशा हेर्न पर्खिबसें , बगरमा दिल छोडेर ।

किन तुफान अब चाहिं, ज्ञानी –ज्ञानी भएको छ ।

Monday, 22 August 2011

गजल

मेरो आफ्नै आकाश हुनुपर्छ आजबाट ।

केही कुरा त खास हुनुपर्छ आजबाट ।


हराएथ्यो जिन्दगी बालुवामा पानीजस्तै ।

म हुनुको आभाष हुनुपर्छ आजबाट ।


दैब तेरो भरमा पाखुरीले छोड्यो धर्म ।

थोरै देबत्व नास हुनुपर्छ आजबाट ।


बल छल मा नझुकेको सत्य-तथ्य लेखिएको ।

नबीन ईतिहास हुनुपर्छ आजबाट ।


जे-जे बित्यो सकियो आऊ अब यस्तो सोचौं ।

काँडासँग सुवास हुनुपर्छ आजबाट

Tuesday, 16 August 2011

गजल

जिन्दगी अझै मेरो जुवा खालमा छ ।

लौ एउटा मुहार ऊ हेर झ्यालमा छ ।


आधारले यही एउटा रैछौं जोडिएको !

म आफ्नै तालमा छु ऊ आफ्नै तालमा छ ।


कसैले सोध्नै छोडे हालखबर अनि ।

चिन्दछ सबैलाई जो बेहालमा छ ।


तागत कहाँ जोख्ने छ र दिनेशमा ?

आकाशमा को छ र को पातालमा छ

Saturday, 28 May 2011

गजल

नसुनाउनू कसैलाई कथा यसो गर्नू क्या !
सिकाउँछन नत्र त्यसो गर्नु क्या यसो गर्नू क्या !!

भुँई खुट्टाले कोट्याउनु कतै कि टोक्नु औंला ।
बाँकी आँखा-आँखाले गर्नु कुरा यसो गर्नू क्या !!

भोलि पिर्छ आफैंलाई शंका लाग्छ भने यदी ।
कतै नगर्नु कसैसँग आशा यसो गर्नू क्या !!

बुझ्नुमा एउटा जलन हो यस्तै लाग्छ भने !
दिनेश जस्तै बनिदिनु बच्चा यसो गर्नू क्या !!

Friday, 6 May 2011

गजल

मीठो मुस्कान सँगै ढाडमा हुलाकीको धाप आयो ।
चिठ्ठी हातमा आयो मुखमा बाफ रे बाफ आयो ।

एक जमाना भयो दुश्मनी भएको भाग्य सँग ।
बुझ्छु म पनि तिम्रो नाममा कस्को जवाफ आयो ।

धर्म समाज पाप समय बाध्यता रीतिथिति ।
प्रश्न एउटा थियो उत्तर यसरी लाख आयो ।।

याद आउँछ जब लाहुरे छोरा आकाश हेर्दै ।
मेरी आमा भन्छिन आयो हवाइजहाज आयो ।