Thursday 11 March 2010

गजल

त्यस्का बाको छाती सधैं दुख्छ राति ।
यति साह्रो याद नआएकै जाति ।

सबै हुँदा एक्लो , एकान्तमा खुशि ।
ऐना हेर्दै हाँस्नु , खेल आत्म घाति ।

कसै सँग हिंडी, कसै सँग मस्की ।
चौतारीका कुरा , शंका नाना भाँति ।

भोक निन्द्रा गयो ,छैन होश पनि ।
लौन बुटी देऊ, लाग्यो साँढे साति ।

अघि परे पछि ,सुक्छ ओठ मुख ।
कैले सम्म आम्मै , राख्ने कुरा थाँति ।

गजल

गएपछि होश अँ पिएँ शायद ।
भरी गाग्रो थिएँ पोखिएँ शायद ।

आँसु रत्न भेटें यी बन्द कोठामा ।
हिजो अस्ति घर मैं थिएँ शायद ।

पानापाना मन , फलेंथे गजल ।
ढिलो गरी आयौ , टिपिएँ शायद ।

अब आऊ हेर , बेरङ्ग मनमा ।
यति चोट छ्यापे ,रङ्गिएँ शायद ।

गजल

थकान यो बिर्सी मैले सुस्ताउनु पर्थ्यो ।
ए रात तँ सँगै निन्द्रा नि आउनु पर्थ्यो ।

भरेर थालिमा स्वर्ण सुख हुने भए ।
मन्दिर जानेले भट्टी किन धाउनु पर्थ्यो ।

देखिए आँखामा आँसु भएँ बिचरा म ।
हे दैब संसार अन्धै बनाउनु पर्थ्यो ।

बिहान कोदालो बिसाइ भन्थिन आमा ।
गाउँमा गरेर खान त पाउनु पर्थ्यो ।

दिनेश कहिले काहिं कोठा थुनी हाँस्छ ।
झुट सही कतै मन रमाउनु पर्थ्यो ।