Monday 18 May 2009

गजल


घर छोडी ,कम्ता हण्डर खाइएन आमा ।

छैन काम ,खाने सामल पाइएन आमा।


साहुहरु घरमा ,ताकेता गर्दा हुन् ।

कसरी तिर्नु ,थोरै ऋण लाइएन आमा ।


चुहियो खरको छानो, बुईगल भरी पानी ।

बर्षा लाग्यो, छानो यो साल छाइएन आमा ।


मादलुको ताल सँगै, कम्मर मर्काउँदै।

रोधि प्यारो ,अरु गीत गाइएन आमा ।


फर्कन्छु भोलिनै, झिटिझ्याम्टा कसी।

मर्छु काखमा,अरु धन चाहिएन आमा ।

Sunday 17 May 2009

गजल

पिडा मनमा बेरियो, अनि गजल केरियो ।
आफ्नो रहर शेरियो , अनि गजल केरियो ।

दोबाटोमा भेट हुने , अन्जान मायालुको
हिड्ने बाटो फेरियो , अनि गजल केरियो ।

आफ्नाहरु भाग्दैथिए ,जलाई मेरो घर ।
चुप तमाशा हेरियो , अनि गजल केरियो ।

आउँछन सुखहरु,भन्थे बाटो खोलिदे ।
काँडे तारले घेरियो ,अनि गजल केरियो ।

झुकाउनु पर्छ शिर ,अघि बढ्ने रहरमा
कहाँ कस्लाई टेरियो , अनि गजल केरियो ।

Saturday 16 May 2009

गजल

कति पर्खिनु, भैगो बिर्सिदिऊँ क्यारे ।
आफ्नो घाउ, आफैले नै सिऊँ क्यारे ।

यो रात कटे ,भोलि त हिजो जस्तै हो ।
मौका सम्झी ,एक गिलास पिऊँ क्यारे ।

लाज लाग्ने नि ! कसैलाई के बताऊँ ।
दर्पण हेरी ,केहि ढाडस लिऊँ क्यारे ।

यो दुनियामा के,कमी छ र आफ्नाको ।
तैपनि लाग्ने , कस्को लागि जिऊँ क्यारे ।

छैनन थाहा छ र पनि यस्तो लाग्छ ।
आउंदै छिन ,यही बसी पर्खिऊँ क्यारे ।

Wednesday 13 May 2009

गजल

हाम्रो यो दूरी चुलिदैछ आजभोलि ।
लाग्छ मलाई भुलिदैछ आजभोलि ।

कहिले यस्को हातमा कहिले उस्कोमा ।
चोखो जल बिटुलिदैछ आजभोलि ।

सँगी सँग अर्कैका कुरा हुन्छन रे ।
बिचमा को को हुलिदैछ आजभोलि ।

मनमा के बोझ बढ्यो र त्यस्तो कुन्नी ।
खुब मन्दिर डुलिदैछ आजभोलि ।