Saturday 21 March 2009

गजल

छोराको भोक मार्न ,पानी पकाउँदैछन आमाहरु ।
भकारिमा मुसा राज छ ,छैनन अन्नका दानाहरु ।

घर छोडे , गाउँ छोडे ,शहर छोडे, देश छोडे ।
कृष्णलाई के थाहा आजभोलि कहाँ छन सुदामाहरु ।

बढेर एउटा बोझ ,बोकेर बिसाउनु छ चिहान ।
कलिलोमै सार्है अमिला , त्यसैले बाँसका तामाहरु ।

खै कस्को भविष्य कसरी उज्वल होला यहाँ ।
ठूला लुट्दै छन देखासिकी गर्दैछन सानाहरु ।

परदेशमा आधिरातको सपनामा रुन्छ दिनेश ।
मझेरिमा भ्यागुत्तो उफ्री ,चुहिन्छन घरका छानाहरु ।

Thursday 19 March 2009

केहि हाइकुहरु

१कागजी डुंगा
बगरमा बसेको
पानी सुक्दैन ।

२ सुर्यको मुख
कहिले नि हेर्दैन
रुखको छाँया ।


३ मुटु तोडेर
पर्खाल बनाइछौ
कसरी आऊँ ?

केहि हाइकुहरु

१)खोलाको पानी

निरन्तर बगेर

उँभो लाग्यो र ?

२)आँधी तुफान

घर याद आउँछ

खर छाएको ।

३)सुकेको खोला

सललल बग्दैछ

कमिला तांती ।