Tuesday 23 April 2013

हिसाब र बोझ

उही जिन्दगी


उही कमाइ

उही खर्च अनि

उही ऋण जो बढ्दो छ दिनदिन ।



हिजो साँझ ,

मेरी छोरी निस्सासिदै आइ ,

बाबा बाबा ,

किन छोरी ?

तपाईंलाई थाहा छ सगरमाथा कत्रो छ ?

थाहा छ नानू ,

म भन्दा १० हजार गुणा अग्लो छ रे है ।

“अँ नानू तिमी भन्दा धेरै अग्लो छ ,

छोरी भन्छे आम्मामामा ,

फेरि सोध्छे ?

पृथ्वी भयड्कर ठूलो छ रे है बाबा ,

अँ नानू भयङ्कर ठूलो छ ,

धेरै मान्छे छन् रे है बाबा ?

अँ छोरी धेरै मान्छे छन ?

कति छन् बाबा ??

ऊ हात फैलाउँछे ,

यति ?

हैन ।

यति ?

म भन्छु हैन अझै धेरै ।

फेरि सोध्छे अझ हात फैलाएर ।

यति हैन छोरी अझ धेरै ।

उसका हात फैलिएसम्म फैलाई

र फेरि सोधी यति हो बाबा ??

हैन यो भन्दा नि अझ धेरै ।।

म देख्छु उसको अनुहारमा अन्यौलता ,



आज मिसले भन्नु भाको

चन्द्रमा धेरै टाढा छ रे है ,

अँ नानू धेरै टाढा छ ,

मंगल ग्रह अनि अरु ग्रहहरु पनि ,

धेरै टाढा छन रे है ।

हो नानू धेरै टाढा छन्

मेरी छोरी कहालिन्छे ,

म देख्दैछु ,

ऊ आतिदैं छे ,

म हेर्देछु ।

उस्को सानो दिमागमा यो दुरी

यो जनसंख्या र यसको घनत्व ।

यो हिसाब र यसको घनत्व ।



बेलुकी खाना खाँदै सोधी ,

बाबा यो मेरो प्लेटमा कति भात छ ??

हँ यो कस्तो हिसाब ??

पृथ्वी भरिका मान्छेले खाने भात ,

एकै ठाउँ जम्मा गर्यो भने ,

कति हुन्छ होला है बाबा ?,

म भन्छु धेरै हुन्छ नानू

कति हाम्रो घर जति हुन्छ बाबा ??

हैन त्यो भन्दा धेरै हुन्छ ।

कति हाम्रो गाउँ जति हुन्छ बाबा ?

हैन त्यो भन्दा नि धेरै ,

हाम्रो मामाघर सम्म जति हो बाबा ?

हैन त्यो भन्दा नि धेरै नानू

ऊ फेरि अतालिन्छे ।

म हेरिरहेछु ,

म देखिरहेछु ,

उस्लाई यो दूरीले ,

यो हिसाबले थिचिरहेछन् ।

यो आत्तिरहेकी छ ।

आफू हराएको अनुभव गर्दैछे ।

यो भीडमा यो दूरीमा ,

कता कता , कहाँ –कहाँ शुन्यमा ।



नबोली उठी ऊ ।

र गै ओछ्यानमा ।

अनुहार निन्याउरो देख्छु ।

लाग्छ उस्लाई यो घनत्वले ,दुरीले

थिचिरहेको छ ,

र ऊ कोशिस गर्दैछे यो भारीबाट उम्कन ।

म छोरीमा आफू देख्छु ।

म पनि त यस्तै बोझहरुबाट थिच्चिरहेकोछु ।

घच्याँडिरहेको छु , बोझहरुबाट ।

साहूको घर अगाडि हिड्दाँ पाइला गह्रौं हुन्छन् ।

भयंकर ठूलो हुरीले मलाई घँचेटेझैं हुन्छ ।

पाइला सार्न भएभरको बल लगाउनु पर्छ ।

साँच्चै यो हुरीमा कति शक्ति छ ??

म पनि आत्ति रहेको छु ।

अफिसमा कामको बोझ सम्झन्छु ,

काँध माथि सिंगो पृथ्वी राखेझैं हुन्छ ।

फगत म निहुरी रहेको छु ,

निहुरी रहेको छु ।

मलाई पनि यस्तै यस्तै हुन्छ छोरीलाई जस्तै ।



अहँ यो तालले हुँदैन ।

मेरो जिन्दगी कसो भयो थाहा छैन ।

तर छोरीलाई यो बोझले ,

थिच्नु हुँदैन ।

यो दुरीले तर्साउनु हुन्न ।

हुँदै हुन्न ।

कुनै पनि हालतमा हुन्न ।

आधा रातमा ,

बाहिर चन्द्रमा चम्कीरहेको छ ।

म छोरीलाई उठाउँछु ।

किन बाबा ??

छोरी आऊ हामी आज नापौं हामीलाई ।

आऊ जाऊँ बाहिर र हिसाब गरौं ।

बाहिर निस्केर हेर्छु ।

अटलीभरीको पानी ,

छोरी आऊ त हेर ।

यहाँ के –के छ ?

अटलीमा बाबा ??

हो अटलीको पानीमा ।

हेर्छे र सोध्छे ?

यो के हो बाबा ठूलो टल्कीएको ??

त्यो चन्द्रमा हो नानू ,

नाप त कति छ ??

आधा बित्ता छ बाबा ।

हो चन्द्रमा त्यति टाढा र ठूलो छैन नानू ।

तिम्रो आधा बित्ता छ अनि आँखै अघि छ ।

अनि यी साना साना के हुन् त बाबा ??

यी साना -साना ग्रहहरु ताराहरु हुन् नानू ।

यति साना ??

हो त । पृथ्वीभन्दा धेरै ठूला ताराहरु ।

ती पनि यति साना छन् ।

छोरी अँगुलीले नाप्छे ।

एक अँगुल ,

आधा अँगुल ,

दुरी नाप्छे ,

एक बित्ता

आधा बित्ता ।

यो यता देखिएको टाकुरा चाहिं

के हो नी बाबा ??

त्यो हिमाल हो नानू ,

सगरमाथा ,

नाप त कत्ती छ ??

एक बित्ता छ बाबा ।

हो संसारकै उस्कै हातमा अटाउँदैछ अब ।

ऊ आफूलाई ,

ठूलो देख्दैछे ,

यो दूरीहरु साना देख्दैछे ।

अब ऊस्लाई सगरमाथा ठूलो लाग्दैन ।

चन्द्रमा र ग्रहरुको दूरी ठूलो लाग्दैन ।

ऊ खुशी छे ,

र प्रत्येक ताराहरु नाप्दैछे ।

संसार अब उस्को अँगालो भन्दा पनि सानो हुँदैछ ।

म दंग छु यो हेरेर ।

र सोच्दैछु ।

मेरा ऋण पनि यसैगरी

हिसाब गर्न मिल्ने भएको भए ।



12 comments:

  1. बजाएचन ! बबाल कबिता ! :))

    ReplyDelete
  2. धेरैपछ पढेको राम्रो कविता :)

    ReplyDelete
  3. गजलका पजलमा मान्छे लुकाउने मान्छे अब कवितामा हाम्लाई हराउन खोज्दैछन् :) गज्जप कविता।

    ReplyDelete
  4. गजब कविता !! त्यसमाथि अन्तिमका ९ वटा लाइन झनै टची :)) Loved it

    ReplyDelete
  5. गज्जबको कविता! कोमल भाव र सशक्त अभिव्यक्तिलाई एकैपटक बोकेर उभिएको सग्लो कविता।

    ReplyDelete
  6. कविता पढ्न त मजा आउनी रैछ । थाहा हुँदैछ ।

    ReplyDelete
  7. Ramro lago,kabita kahani maan ko aawaj nai ho malai lagcha

    ReplyDelete
  8. Perfect, full of positiveness. Inspiring........:)

    ReplyDelete
  9. सायदै पढेको छु
    यस्तो कविता यस अघि !
    दिनेश दाइ लागि लाख धन्यवाद !
    मन भरियो, चित्त बुझ्दो ...
    कास ! लेख्न सकियोस -कविता त् यस्तो
    पढ्न पाइयोस त् कविता यस्तो !
    -कवितामा सरलता, रोचकता, बौदीकता -शब्द समायोजन सबै मिलेको र पाठकको मन जित्न सक्ने भाव र प्रस्तुति रहेको पाए ! मन खुस त् दिल खुस भए :)

    ReplyDelete
  10. सार्है राम्रो | छोरि को प्रश्न पढेपछि उत्तर जान्ने व्यग्रता म मा पनि त्यति नै थियो | उत्तर हरु सार्है मीठा र Inspiring लागे | "Kudos!!!"

    ReplyDelete
  11. Gajjab !! Keep it up Dinesh Jee. Alok

    ReplyDelete
  12. Craft अझै खँदिलो हुन सक्थ्यो कविताको ।
    भाव र मर्मले हिर्काए, बाँचेको अनुभूति जगाउन मर्ने गरी !

    ReplyDelete